काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि आजदेखि टोल शुल्क निर्धारण गरिएको जनाएको छ ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा फरक–फरक शुल्क तोकिएको छ ।
सूचनाअनुसार आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यसैगरी, मिनी बस तथा मिनी टिपर/ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकले प्रवेशतर्फ २६० रुपैयाँ र बाहिरिने दिशामा २०० रुपैयाँ तिर्नुपर्नेछ।
मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ ।