स्याङ्जा । स्याङ्जाको वालिङ र आसपासका क्षेत्रको सुरक्षालाई दृष्टिगत गर्दै २०६० सालमा यहाँ स्थापित सशस्त्र प्रहरी बलको जग्गा व्यवस्थापन गर्न गत असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय विवादमा परेको छ । पूर्णामृत भवानी माविको स्वामित्वको कित्ता नम्बर ४८२ को २९–५–२–१ क्षेत्रफलको जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गर्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।
विद्यालयको सहमति बिना थालनी गरिएको प्रक्रियाप्रति आपत्ति प्रकट गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेलाई विद्यालयको तर्फबाट विरोधपत्र बुझाइएको छ ।
विद्यालयले उक्त जग्गा दाताबाट प्राप्त भएको र आगामी दिनमा विद्यालयले मेडिकल, वनविज्ञान, इन्जिनियरिङ, कृषि, बायो इन्जिनियरिङ लगायतका विधाका कक्षा सञ्चालन गर्ने योजना बनाएकोले जग्गा दिन नसकिने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेसँग अबको प्रक्रिया बारे जिज्ञासा राख्दा प्रारम्भिक प्रक्रिया सुरु भएकाले सशस्त्र प्रहरी उपरीक्षकको प्रतिवेदन प्राप्त भएपछि १५ दिने सार्वजनिक सूचना जारी गरिने र प्राप्त सुझाव र उजुरीका आधारमा रायसहित गृहमन्त्रालयमा फाइल पठाइने जानकारी दिएका छन् ।