कांग्रेसको नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरिँदै

  • मिति : कार्तिक १३, २०८३
446 Shares

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको छ । महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण आयोगमा पठाउने तयारी गरिएको हो ।

नयाँ कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको विवरण आयोगमा अद्यावधिक गर्नु नियमित प्रक्रिया भएको कांग्रेसले जनाएको छ । कार्यसमितिको पूर्ण विवरण अद्यावधिक गर्न आवश्यक कागजात तथा विवरण संकलनको काम भइरहेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

बिहीबार शपथग्रहणलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले निर्वाचन आयोगमा विवरण अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव दुलाललाई दिएको थियो । राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार पार्टीको केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि त्यसको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने भएकाले सोहीअनुसार तयारी थालिएको दुलालले बताए ।

कांग्रेसको असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा १५औँ महाधिवेशन भएको थियो । महाधिवेशनबाट सभापति गगनकुमार थापासहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरूको बिहीबार शपथग्रहण सम्पन्न भएपछि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पहिलो केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । सोही बैठकले आयोगमा विवरण अद्यावधिक गराउने निर्णय गरेको हो ।

तर, अनुसन्धानको दायरामा रहेका चारसहित १३ जनाको शपथग्रहण हुन बाँकी छ । बिहीबार वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासहित १९ पदाधिकारी र १९८ केन्द्रीय सदस्यले शपथ लिएका थिए ।

विनिता खड्का, मोहनबहादुर बस्नेत, सन्तोष चालिसे र उमेशचन्द्र यादवको हकमा अनुसन्धानको टुंगो नलागेसम्म शपथ प्रक्रिया रोकिएको छ । बाँकी नौजनालाई उपस्थित भएका बेला आन्तरिक रूपमा शपथ गराइने निर्वाचन समितिले जनाएको छ ।