आजको मौसम : चक्रवात ‘अर्नब’को प्रभाव आज बढी देखिने

  • मिति : कार्तिक १३, २०८३
446 Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को पनि प्रभाव रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका अधिकांश स्थानमा र यी दुई प्रदेशका बाँकी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राति भने देशभर अधिकांश बदली रहनेछ । देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ भने देशका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ ।

बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा/हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेकोले धानबाली भित्र्याउने लगायतका कृषि कार्य बिहीबार अगाडि नै सम्पन्न गर्न महाशाखाले अनुरोध गरिसकेकाे छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन, पर्यटकहरूलाई उच्च हिमाली भू-भागमा नजान र गइसकेको भए पनि उक्त अवधिमा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

यसबाहेक, चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउछाउमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूसँग महाशाखाकाे अनुरोध छ ।