काठमाडौं । ‘अग्रगामी मोर्चा’ले आगामी निर्वाचनमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । मधेसकेन्द्रित दलसहित विभिन्न राजनीतिक दल मिलेर बनेको मोर्चाले आगामी स्थानीय तहको निर्वाचनदेखि एउटै चुनाव चिह्न प्रयोग गर्ने गरी तयारी अघि बढाएको हो ।
मोर्चामा आबद्ध आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहका अनुसार, यसका लागि मोर्चामा सहभागी नौ दलले आन्तरिक तयारी गरिरहेका छन् ।
उनले बाह्रखरीसँग भने, “आगामी चुनावको तयारीस्वरूप हामीले एउटै चुनाव चिह्नमा लड्ने तयारी गरेका छौँ । यसका लागि मोर्चामा रहेका नौ दलले तयारी गरिरहेका छन् ।”
मोर्चाले संगठन विस्तार, राजनीतिक गतिविधि र आगामी निर्वाचनको तयारीलाई लक्षित गर्दै सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । मोर्चाले यही १४ गते भैरहवामा, १५ गते नेपालगञ्ज र १६ गते सुर्खेतमा अभिमुखीकरण कार्यक्रम गर्ने साहले बताए । सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गरेपछि एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने विषयमा निर्णय लिइने साहले बताए ।