दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

  • मिति : अशोज २०, २०८३
497 Shares

काठमाडौं । यस वर्षको विजया दशमीको शुभ साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइत रहेका जानकारी दिएको हो ।

पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ । विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

यस्तै घटस्थापनाका लागि बिहान ११ः४७ बजेको शुभ साइत रहेको छ । यस वर्ष २५ असोज आइतबारदेखि नवरात्रारम्भ हुँदै छ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको हो । २६ असोजमा झण्डा फेर्ने साइत १०ः०७ बजे उत्तम रहेको समितिले जनाएको छ । झण्डा फेर्दा पश्चिम मोहडा गरेर फेर्नुपर्ने समितिले जनाएको छ ।

२९ असोज बिहीबार पचलीभैरव यात्रा हुने भएको छ । ३१ असोजमा शनिबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान ०७ः३७ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान १०ः३९ बजेको छ ।

१ कात्तिक आइतबार महाअष्टमी पर्व परेको छ । यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ । २ कात्तिक सोमबार पनि अष्टमी तिथि नै परेको छ । ३ कात्तिक मंगलबार महानवमी पर्व परेको छ । ४ कात्तिक बुधबार विजयादशमी पर्व परेको छ ।

नेपालीको महान् पर्व बडादसैँको यो मुख्य दिन हो । यस दिन देवी विसर्जनको साइत बिहान ०८ः४९ बजे रहेको समितिले जनाएको छ । बिहान ०८ः४९ बजे देवी विसर्जन गरी साइतमा टीका लगाउनेका लागि बिहान १०ः२६ बजेको साइत उत्तम रहेको छ ।