चुनावपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ : कुलमान घिसिङ

  • मिति : अशोज २०, २०८३
548 Shares

हेटौंडा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्।

मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी अध्यक्ष घिसिङले सञ्चारकर्मीसँग कुराकानी गर्दै बागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गरे। उनले उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सीमित नरही संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको बताए।

उनले उज्यालो नेपालको उद्देश्य केवल सत्ता प्राप्ति नभएको स्पष्ट पार्दै देशको आर्थिक रूपान्तरण, सुशासन कायम गर्ने र विभेद अन्त्य गर्ने प्रमुख लक्ष्य रहेको बताए।

अध्यक्ष घिसिङले वर्तमान सरकारले गठन भएको करिब छ महिनाको अवधिमा जनतामा अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गरे। सरकारले सुशासनका क्षेत्रमा केही काम गर्न खोजेको देखिए पनि त्यसलाई प्रभावकारी रूपमा संस्थागत गर्न नसकेको उनको टिप्पणी थियो।

अध्यक्ष घिसिङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशव्यापी रूपमा संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई तीव्रता दिइरहेको जानकारी दिए।