हिमलुङ हिमपहिरोमा थप ८ शव भेटिए, एक जना अझै बेपत्ता

  • मिति : अशोज १५, २०८३
276 Shares

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका १६ जनामध्ये थप ८ जनाको शव फेला परेको छ। पछिल्लो खोजीका क्रममा बिहीबार ८ जनाको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार यसअघि सात जनाको शव फेला परिसकेको थियो। थप आठ जनाको शव भेटिएसँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या १५ पुगेको छ। फेला परेका शवमध्ये अधिकांशको पहिचान हुन बाँकी रहेको जनाइएको छ।

गत असोज ११ गते हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरो खस्दा १६ जना सम्पर्कविहीन भएका थिए। त्यसयता निरन्तर भइरहेको खोजी तथा उद्धार अभियानबाट क्रमशः शवहरू फेला पर्दै आएका छन्। अब एक जना मात्रै बेपत्ता रहेको र उनको खोजी जारी रहेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बेपत्ताको खोजीका लागि नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोली हिमलुङ क्षेत्रमा परिचालन गरिएको छ। पासाङ काजी शेर्पाको नेतृत्वमा रहेको अनुभवी पर्वतारोहण गाइडको टोलीले हिमपहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेको छ।

यसअघि बुधबार तीन जनाको शव फेला परेको थियो। त्यस क्रममा गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव भेटिएको थियो। त्यसअघि आइतबार र सोमबार गरी वीरेन्द्र गुरुङ, घनश्याम राई, छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो।

हिमलुङ हिमालमा गएको हिमपहिरोका कारण आरोहण तथा आधार शिविर व्यवस्थापनमा संलग्न नेपाली गाइड र सहयोगीहरू प्रभावित भएका थिए। प्रतिकूल मौसमका कारण सुरुवाती चरणमा खोज तथा उद्धारमा कठिनाइ भए पनि मौसममा केही सुधार आएपछि अनुभवी माउन्टेन गाइडसहितको टोलीलाई घटनास्थलमा पठाएर खोजीलाई तीव्रता दिइएको थियो।

अहिले एक जना मात्रै सम्पर्कविहीन रहेकाले खोजी टोलीले सम्भावित स्थानमा केन्द्रित भएर खोजी गरिरहेको छ। फेला परेका शवलाई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं ल्याउने तयारी गरिएको छ।