भरियाको दुःखदेखि पारिवारिक खुसीसम्म : ‘कार्की साइँला’ असोज २ देखि देशव्यापी प्रदर्शनमा

  • मिति : अशोज १, २०८३
463 Shares

काठमाडौं । चलचित्र ‘कार्की साइँला’ आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्र निर्माण पक्षले बिहीबार काठमाडौंको अनामनगरस्थित सिलौटो रेस्टुरेन्टमा पत्रकार भेटघाट आयोजना गर्दै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो।

चलचित्रमा अभिनेता जितु नेपाल मुख्य भूमिकामा छन्। उनले चलचित्रमा ‘कार्की साइँला’ नाम गरेका भरियाको भूमिका निर्वाह गरेका छन्। भरियाको काम गर्दै जीवन गुजारा गरिरहेका कार्की साइँलाको विवाह, सन्तान प्राप्तिपछिको खुसी तथा गाउँले समाजमा व्याप्त हेपाहा प्रवृत्तिलाई चलचित्रको कथावस्तुमा समेटिएको छ।

चलचित्रले सामान्य जीवन बाँचिरहेका एक भरियाको संघर्ष, पारिवारिक खुसी र सामाजिक व्यवहारलाई केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा जितु नेपालसँगै प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

डम्बर राईको कथामा निर्माण भएको चलचित्रको पटकथा तथा संवाद शंकर धिताल र सविन अधिकारीले तयार पारेका हुन् भने चलचित्रको निर्देशन राजेन्द्र बस्नेतले गरेका छन्।

चलचित्रका निर्माता बालकुमार राई र निर्भिक बञ्जारा हुन् भने अनन्त राई कार्यकारी निर्माता रहेका छन्। चलचित्रमा दिप्सन लिम्बु र संकेत अगस्थीको संगीत रहेको छ।

चलचित्रको वितरणको जिम्मेवारी कुबेर फिल्मस्ले लिएको छ। निर्माण पक्षले चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक विषयवस्तुसँग जोड्ने विश्वास व्यक्त गरेको छ।