पत्रकार पक्राउ विषयमा संसदीय समिति बनाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसको माग

  • मिति : कार्तिक १६, २०८३
463 Shares

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी बन्दै गएको र विधिको शासन तथा प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको आरोप लगाउँदै छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले पत्रकार धरपकड लगायतका घटनाको निष्पक्ष छानबिनका लागि ‘संसदीय विशेष समिति’ गठन गर्न माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनमत संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताए। पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको कांग्रेसको ठहर रहेको बताउँदै उनले छानबिनका लागि संसदीय छानबिन गर्न माग गर्ने निर्णय गरेको हो ।

पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमतिविना नै समाचार कक्षमार्फत पत्रकारहरूलाई पक्राउ गरिएको घटनाप्रति दलले आपत्ति जनाएको छ।

‘पक्राउको स्पष्ट कानुनी आधार र अदालतको अनुमतिविना समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र होइन, विधिको शासन विपरीतको स्वेच्छाचारिता हो,’ बैठकको निर्णयबारे नेता आङदेम्बेले भने, ‘यसको जवाफ सरकारले संसद् र जनतालाई दिनुपर्छ।’

उनले सरकारले ‘ड्यु प्रोसेस अफ ल’ अनुसार काम नगरी ‘जे गरे पनि हुन्छ, जवाफ दिनु पर्दैन’ भन्ने प्रवृत्ति देखाएको टिप्पणी गरे। यस्ता गतिविधि मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाएर आफू अनुकूलको शासन लाद्ने खतरनाक षड्यन्त्र भएको कांग्रेसको निष्कर्ष छ।

कांग्रेसले पत्रकार धरपकड तथा सरकारसँग जोडिएका सबै विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेको छ । साथै, दोषीलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ।

सरकारका राम्रा काम, जनसरोकारका विषय र सुशासनमा कांग्रेसको समर्थन रहने भए पनि विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्त विपरीत सरकार अघि बढे कडा प्रतिरोध गर्ने उनले चेतावनी दिए।