काठमाडौँ : देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १४५ जना घाइते भएका छन् । बिहीबार (असोज १) नेपाल प्रहरीले बुधबार (भदौ ३१) सुरु भएदेखि मध्यराति १२ बजेसम्म भएका सवारी दुर्घटनामा उक्त हताहती भएको विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार ओखलढुंगा, कपिलबस्तु, सुर्खेत र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको हो । साथै, कोशीमा ४१, मधेशमा ३१, काठमाडौं उपत्यकामा १८, बागमतीमा १०, गण्डकीमा ४, लुम्बिनीमा १९, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा १० गरी १४५ जना पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा घाइते भएका प्रहरीको विवरणमा उल्लेख छ । घाइतेहरूको स्वास्थ्य अवस्था र उपचारका विषय विवरणमा खुलाइएको छैन ।