देउवाको साथ छोडेर ५० नेता गगनतिर खुले

  • मिति : अशोज १, २०८३
531 Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर देखिएको विवादबीच पूर्वसभापति शेरबहादुर देउवा पक्षमा रहेका नेताहरू सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा समाहित हुने क्रम अघि बढेको छ ।

देउवा पक्षमा रहेर १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका तथा पछिल्लो समय असन्तुष्ट समूहमा रहेका ३० भन्दा बढी नेता सानेपास्थित थापा नेतृत्वको केन्द्रीय कार्यालयमा सहभागी हुने तयारीमा छन् । थप केही नेता पनि सम्पर्कमा रहेको बताइएको छ ।

पार्टी एकताको पक्षमा देउवा पक्षका नेताहरूले संयुक्त धारणा सार्वजनिक गरेपछि उनीहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समेट्ने प्रक्रिया अघि बढेको हो । थापा नेतृत्वको पक्षले १४औँ महाधिवेशनअघिको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान कार्यसमितिमा समावेश गर्ने निर्णय गरेपछि उनीहरू सानेपा फर्किन तयार भएको बताइएको छ ।

यसअघि देउवा पक्षमा रहेका मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, श्याम घिमिरे, महालक्ष्मी उपाध्याय ‘डिना’, सुरेन्द्र पाण्डे, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, ईश्वरी न्यौपाने, सीता गुरुङ, सुशीला थिङलगायत नेताहरू गगन नेतृत्वको कार्यसमितिमा सहभागी हुने पक्षमा देखिएका छन् ।

देउवा पक्षले भने छुट्टै कार्यतालिकामार्फत १५औँ महाधिवेशन अघि बढाउने तयारी गरेको छ । दुई पक्षबीच महाधिवेशनको मिति, प्रक्रिया र वैधानिकतालाई लिएर विवाद कायम रहे पनि नेताहरूको एउटा समूह भने पार्टी एकताका लागि गगन नेतृत्वको कार्यसमितिमा समाहित हुन थालेको हो ।

यसअघि थापा नेतृत्वको कार्यसम्पादन समितिले विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान कार्यसमितिको सदस्यका रूपमा सहभागी गराउने निर्णय गरेको थियो । त्यसपछि १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुन थापाले पुरानो कार्यसमितिका सदस्यहरूलाई आह्वान गरेका छन् ।

देउवा पक्षबाट अलग हुँदै गगन नेतृत्वको कार्यसमितिमा सहभागी हुने नेताहरूको संख्या थपिन थालेसँगै कांग्रेसभित्रको आन्तरिक समीकरणमा पनि परिवर्तन देखिएको छ ।