‘हामी सरकार ढाल्नका लागि अग्रगामी मोर्चा बनाएका होइनौं,’ : प्रभु साह

  • मिति : भदौ २७, २०८३
582 Shares

जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकटको समाधानका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताएका छन् ।

जनकपुरमा आज आयोजित अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मोर्चा कुनै सरकार ढाल्ने उद्देश्यले नभई देशलाई संकटबाट निकास दिन निर्माण भएको स्पष्ट पारे ।

भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको भनाई उद्धृत गर्दै कार्यक्रममा आजपा अध्यक्ष साहले भने, ‘छोटे मन से कोई बड़ा नहीं होता, टूटे मन से कोई खड़ा नहीं होता ।’ उनले अहिलेको अवस्थामा संगठन र कार्यकर्ताबीचको एकता तथा मनोबललाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए ।

साहले अग्रगामी मोर्चा निर्माणको मुख्य उद्देश्य देशलाई जोड्ने, संकटबाट बचाउने, नयाँ निकास दिने, विगतका उपलब्धिहरूको रक्षा गर्ने तथा जनताका थप अधिकारको ग्यारेन्टी गर्ने रहेको बताए । उनका अनुसार देश अहिले राजनीतिक अस्थिरता मात्र नभई आर्थिक, सामाजिक, जलवायु तथा प्राकृतिक विपत्तिसहित बहुआयामिक संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा समस्यालाई केवल सत्ताको आँखाबाट हेरेर समाधान गर्न नसकिने उनको भनाइ थियो ।

मोर्चामा आबद्ध नेतृत्व र राजनीतिक शक्तिहरूको विगतको योगदानको चर्चा गर्दै साहले उनीहरूले संघर्षको इतिहास निर्माण गर्दै समाज र देशमा अमिट छाप छोडेको बताए । साथै, विगतमा विकासका विभिन्न मोडलसमेत खडा गरिएको उल्लेख गर्दै त्यसबाट प्राप्त सकारात्मक अनुभवलाई वर्तमान संकट समाधानमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

सरकारको कामकारबाहीबारे टिप्पणी गर्दै अध्यक्ष साहले अग्रगामी मोर्चा सरकार ढाल्ने खेलका लागि नबनेको स्पष्ट पारे । ‘हामी सरकार ढाल्नका लागि अग्रगामी मोर्चा बनाएका होइनौं,’ साहले भने । यद्यपि सरकार ढाल्ने खेलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताहरू सक्रिय रहेको आरोप लगाउँदै उनले त्यस्तो सत्ता केन्द्रित राजनीतिक खेलले मुलुकका वास्तविक समस्या समाधान नगर्ने बताए ।

आगामी दिनमा संगठनलाई थप सुदृढ गर्दै देशभरका कार्यकर्ता र जनताको मन जोड्ने अभियान सञ्चालन गरिने साहले बताए । उनले अग्रगामी मोर्चालाई बलियो बनाउन विचार, संगठन र संघर्षको तयारीलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममार्फत मधेस प्रदेशमा संगठन विस्तार, कार्यकर्ताको क्षमता अभिवृद्धि र आगामी संघर्षका लागि आवश्यक तयारीलाई तीव्रता दिने उनको भनाइ थियो । साहले मुलुकको वर्तमान संकटबाट निकासका लागि जनताको सहभागिता, एकता र संगठित संघर्ष अपरिहार्य रहेको बताएका छन् ।