काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सुरूङ उद्धारमा खटिएका पार्टीका दुई विज्ञ सांसदलाई फिर्ता बोलाउने औपचारिक निर्णय नभएको स्पष्ट पारेका छन् ।
पार्टीका सांसदहरू सागर ढकाल र श्रीराम न्यौपाने उद्धार कार्यमा खटिएको सन्दर्भमा उनले दिएको अभिव्यक्तिलाई लिएर ‘पार्टीले फिर्ता बोलाएको’ भन्दै समाचारहरू सार्वजनिक भएपछि पराजुलीले सामाजिक सञ्जालमार्फत यस्तो स्पष्टीकरण दिएका हुन् ।
‘पार्टीको केन्द्रीय समिति, सचिवालय वा कुनै पनि तहबाट विपद् प्रभावित क्षेत्रमा खटिनुभएका कसैलाई लक्षित गरी फिर्ता बोलाउने औपचारिक निर्णय वा निर्देशन भएको छैन । यस सम्बन्धमा सिर्जना भएको भ्रमप्रति मेरो ध्यानाकर्षण भएको छ,’ उनले फेसबुकमा लेखेका छन् ।
उपनेता पराजुलीले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा आफूले व्यक्त गरेको आसयको गलत अर्थ लगाइएको दाबी गरेका छन् । उनले फिल्डमा खटिँदा राज्यका सुरक्षा निकाय र उद्धार संयन्त्रको कार्यसम्पादनमा कुनै व्यवधान नपुगोस् र जहाँ जसको सीप एवं विशेषज्ञता आवश्यक छ, त्यहाँ त्यसको अधिकतम उपयोग होस् भन्ने मात्र आफ्नो उद्देश्य रहेको बताएका छन् ।
‘मेरो अभिव्यक्तिलाई फरक सन्दर्भ वा अर्थमा बुझिँदा र पार्टीको औपचारिक निर्णय जस्तो गरी समाचार सम्प्रेषण हुँदा भ्रम सिर्जना हुन गयो,’ उनले भनेका छन्, ‘वास्तवमा विभिन्न सीप र विशेषज्ञतासहित खटिनुभएका साथीहरूको योगदानको हामी सम्मान गर्दछौँ ।’
रास्वपाले विपद्को यस घडीमा पार्टीका साधारण सदस्यदेखि नेतृत्वसम्म सबैलाई राज्यका खोज, उद्धार र राहत कार्यमा सहयोगी बन्न निर्देशन दिएको उनले पुनः स्मरण गराएका छन् । साथै, सम्बन्धित निकायसँग समन्वय गरी नागरिकको जीवन रक्षाका लागि खटिन उनले सबैलाई अपिलसमेत गरेका छन् ।