काठमाडौं । गृहमन्त्री सुदन गुरूङले आफू पुरानै तरिकाले मन्त्रालयको कुर्सीमा बसेर कागजात समातेर नबस्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरूङले कतिपयले पुराना नेताहरूकै शैली अपनाउन दबाब दिइरहेको बताएका हुन् । फिल्डमा उत्रिएर काम गरिरहेका गुरूङको स्टन्ट भन्दै आलोचना भएपछि उनले असन्तुष्टि व्यक्त गर्दै आफूलाई पनि पुरानै शैली अपनाउन दबाव दिने प्रयास भएको बताएका हुन् ।
फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम अहिले भोग्दै आएको उनको भनाइ छ । ‘वर्षौँदेखि हामीले फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएका छौँ,’ गुरुङले लेखेका छन्, ‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ।’
उनले पुरानो शैलीका नेतृत्वलाई झैँ मन्त्रालयको कुर्सीमा बसेर कागजात मात्रै समात्ने रूपमा मात्रै नबुझ्न पनि आग्रह गरेका छन्। ‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ, जेनेरेसन ग्याप’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ, चिन्ता लिनु पर्दैन।’