अहिलेको मुख्य प्राथमिकता नागरिकको उद्धार र राहत हो : मुख्यमन्त्री थापा

  • मिति : भदौ १६, २०८३
378 Shares

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षतिपछि उद्धार, राहत तथा पुनः स्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले तत्कालीन तथा दीर्घकालीन व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको प्रमुख आतिथ्यता तथा रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण, राहत वितरण, सडक तथा पूर्वाधार पुनः निर्माणलगायतका कामलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै सरकारी संयन्त्र परिचालन गरिएको जानकारी दिए ।

उनले अहिलेको मुख्य प्राथमिकता प्रभावित नागरिकको उद्धार तथा व्यवस्थापन भएको बताउँदै आवश्यक जनशक्ति, उपकरण, खाद्यान्न, औषधि तथा अन्य राहत सामग्रीको अभाव हुन नदिन सम्बन्धित निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिए ।

बैठकले बाढीबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधारको तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालनमा ल्याउने निर्णय गरेको छ । त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय गरी स्रोत–साधन परिचालन गर्ने व्यवस्था मिलाइने भएको छ ।

त्यस्तै, प्रभावित क्षेत्रमा राहत वितरणलाई व्यवस्थित बनाउन संघीय सरकार मातहतका कार्यालयबाट राहत सामग्री संकलन गर्ने र प्रदेश सरकारमार्फत आवश्यक सामग्रीको व्यवस्थापन गरी स्थानीय तहसँगको समन्वयमा वडास्तरसम्म वितरण गर्ने निर्णय गरिएको छ ।

बाढीमा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा पहिचानका लागि सुरक्षा निकाय र सम्बन्धित स्थानीय तहलाई परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ । शव व्यवस्थापनका लागि आवश्यक स्थान तथा अन्य व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिने निर्णय भएको छ ।

बैठकले बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको तत्कालीन मर्मतदेखि दीर्घकालीन पुनः निर्माणसम्मका काम सम्बन्धित निकायले प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ । साथै, जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन आवश्यक सावधानी अपनाउने र सम्भावित जोखिमका क्षेत्रमा सुरक्षा तथा पूर्व तयारीका उपाय प्रभावकारी बनाउने निर्णय गरिएको छ ।