सर्लाहीका ६ डेरी उद्योग कारबाहीमा, प्रत्येकलाई ५ हजार रुपैयाँ जरिवाना

  • मिति : भदौ १५, २०८३
123 Shares

काठमाडौं । सर्लाहीको मलंगवास्थित दूध पसल तथा डेरी उद्योगहरूको खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी संयुक्त अनुगमनका क्रममा विभिन्न कैफियत भेटिएपछि ६ वटा खाद्य व्यवसायलाई कारबाही गरिएको छ।

नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको विवरणअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सर्लाही, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सर्लाही, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवा तथा घरेलु तथा साना उद्योग कार्यालय मलंगवासहितको संयुक्त टोलीले भदौ ९ गते अनुगमन गरेको थियो।

अनुगमनका क्रममा न्यू कृष्ण डेरी उद्योग, शुरभी दूध डेरी उद्योग, हनुमान दूध डेरी उद्योग, गोपाल आइसक्रिम उद्योग, शिवम दूध डेरी र अभिनन्दन दूध डेरी उद्योगमा खाद्य अनुमतिपत्रबिनै व्यवसाय सञ्चालन गरिएको पाइएको विभागले जनाएको छ।

अनुगमनमा दूध भण्डारणका लागि आवश्यक तापक्रम कायम नगरिएको, खाद्य पदार्थको लेबल विवरण पूर्ण नभएको तथा सरसफाइको अवस्था सन्तोषजनक नरहेको जस्ता समस्या भेटिएका थिए। केही डेरीमा दूधको ल्याक्टोमिटर परीक्षण तथा अल्कोहल र न्युट्रालाइजर परीक्षणसमेत गरिएको थियो।

शिवम दूध डेरी र अभिनन्दन दूध डेरी उद्योगमा गरिएको परीक्षणका क्रममा अल्कोहल परीक्षण पोजेटिभ देखिएको विवरणमा उल्लेख छ। अन्य डेरीहरूमा पनि दूध भण्डारणको तापक्रम तथा गुणस्तरसम्बन्धी विभिन्न कैफियत भेटिएको जनाइएको छ।

अनुगमनपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारीबाट सबै ६ वटा व्यवसायलाई जनही ५ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।

यस्तै, गोपाल आइसक्रिम उद्योगलाई अर्को आदेश नभएसम्म उत्पादन तथा बिक्री–वितरण रोक्का गर्न निर्देशन दिइएको छ।

कारबाहीमा परेका सबै व्यवसायलाई सात दिनभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाममा खाद्य अनुमतिपत्रका लागि निवेदन पेश गर्न निर्देशन दिइएको छ। साथै, पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ बिक्रीका लागि नराख्न, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार गुणस्तर कायम गर्न तथा सरसफाइमा सुधार गर्न निर्देशन दिइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले जारी गरेको विवरणअनुसार संयुक्त टोलीले कुल ६ वटा खाद्य व्यवसायको अनुगमन गरेको हो।