तनहुँमा भेटिएका शव पनि जमिनमुनी पुरिदै

  • मिति : भदौ १५, २०८३
208 Shares

तनहुँ : रसुवा बाढीमा बगेर संकलित शवहरुलाई तनहुँमा पनि जमिनमा पुरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार ती शव जमिनमा पुरिने भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक सीडीओ दीपक रेग्मीले बताए ।

पोखरामा तनहुँबाट संकलित २२ वटा शव बाँकी छन् । तनहुँको दमौलीस्थित सार्वजनिक जमिनमा शवहरुको आईसीआरसी प्रोटोकलअनुसार व्यवस्थापन गरिने सूचना अधिकारी रेग्मीले बताए ।

ती शव मृतकका आफन्तले दावी गरेमा दिन सकिने स्थिति सुनिश्चित गरिएको उनले बताए । शवले दुर्गन्ध फैलाउने भएपछि प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शवहरुलाई जमिनमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।