बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गगन थापा धादिङ र नुवाकोटमा

  • मिति : भदौ १५, २०८३
344 Shares

नुवाकोट। नेपाली कांग्रेसका सभापति गगन थापाले गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । बाढीले पुर्‍याएको क्षति र पीडितहरूको अवस्था प्रत्यक्ष रूपमा बुझ्न उनी सोमबार त्यहाँ पुगेका हुन् ।

नेपाली कांग्रेस नुवाकोटका नेता जगदिश्वरनरसिंह केसीका अनुसार महामन्त्री थापाले धादिङको गल्छीस्थित पुल तरेपछि कोल्पुटार लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरे ।

धादिङका प्रभावित क्षेत्रहरूको अवस्था बुझेपछि उनी नुवाकोट पुगेका छन् । नुवाकोटमा उनले तारुकाघाट, दर्शनदार, देविघाट र गौरीबेसी लगायतका स्थानहरूको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा थापाले बाढीले पुर्‍याएको भौतिक क्षति, खेतीयोग्य जमिनको अवस्था र विस्थापित भएका परिवारहरूको समस्याबारे जानकारी लिएका नेता केसीले जानकारी दिए ।

विभिन्न स्थानको अनुगमनपश्चात् थापा नुवाकोटको हात्तिगौडा कोलोनीमा रहेको होल्डिङ सेन्टरमा पुगेका छन् । त्यहाँ थापाले विस्थापित भएर बसेका नागरिकहरूको अवस्था र उनीहरूलाई उपलब्ध गराइएको गाँस तथा बासको व्यवस्थापनबारे चासो राखेको नेता केसीले जानकारी दिए ।