अमेरिकाद्वारा इरानको लारक टापुमा हवाई आक्रमण

  • मिति : भदौ १५, २०८३
633 Shares

काठमाडौं । अमेरिकी सेनाले इरानको होर्मुज जलमार्गनजिकै रहेको लारक टापुमा तैनाथ इरानी रिभोल्युसनरी गार्ड कर्प्स ( आईआरजीसी)का दुईवटा रकेट लन्चरमा आक्रमण गरेको छ ।

जुलाईको अन्त्यपछि इरानी भूभागमा अमेरिकाले गरेको यो पहिलो प्रत्यक्ष सैन्य कारबाही भएको बीबीसीले जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सलाई उद्धृत गर्दै सीबीएस न्युजले जनाएअनुसार, आईआरजीसीको बलले होर्मुज जलमार्गमा समुद्री माइन्स बिछ्याउन रकेट प्रहार गर्ने तयारी गरिरहेका बेला अमेरिकी सेनाले उक्त आक्रमण गरेको हो ।

बन्दर अब्बास बन्दरगाहनजिकै रहेको लारक टापु होर्मुज जलमार्गको संवेदनशील क्षेत्रमा पर्छ । इरानले त्यहाँबाट जाने तेल ट्यांकरहरूलाई रोकेर जाँच गर्ने तथा २० लाख अमेरिकी डलरसम्म शुल्क असुल्ने गरेको बताइएको छ ।

आईआरजीसीका प्रवक्ता हुसेन मोहेब्बीले उक्त आक्रमणलाई ‘डोनाल्ड ट्रम्प प्रशासनको रणनीतिक र घातक गल्ती’ भन्दै त्यसको सैन्य तथा आर्थिक परिणाम अमेरिकाले भोग्नुपर्ने चेतावनी दिएका छन् । इरानी सञ्चारमाध्यमका अनुसार, ड्रोन आक्रमणमा परी दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

यसैबीच, अमेरिकी आक्रमणको केही घण्टापछि इरानले जोर्डनमा रहेका किङ हुसेन र अल–अजराकस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । आईआरजीसीले उक्त आक्रमणबाट अमेरिकी लडाकु विमान र प्राविधिक पूर्वाधारमा क्षति पुगेको जनाएको छ ।

जोर्डनको सेनाले भने आफ्नो हवाई क्षेत्र उल्लंघन गरी आएका आठवटा क्षेप्यास्त्रलाई एयर डिफेन्स सिस्टममार्फत हावामै नष्ट गरेको पुष्टि गरेको छ । बीबीसी