विपत्तिमा दुप्चेश्वर गाउँपालिकाको मानवीय साथ, अलपत्र तीर्थयात्रीलाई निःशुल्क बसबाट काठमाडौं पठाइयो

  • मिति : भदौ १४, २०८३
1.4K Shares

नुवाकोट । दुप्चेश्वर गाउँपालिकाले गोसाइँकुण्ड हुँदै नुवाकोटको घ्याङफेदीबाट काठमाडौंसम्म यात्राका क्रममा असक्त तथा अलपत्र परेका यात्रुहरूलाई लक्षित गरी निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

गाउँपालिकाको पहल तथा स्थानीयवासीहरूको सहयोग र समन्वयमा ५ वटा निःशुल्क बस सञ्चालन गरी घ्याङफेदीदेखि काठमाडौंसम्म करिब २०० जना यात्रुलाई सेवा प्रदान गरिएको हो।

यात्राका क्रममा विभिन्न कारणले अलपत्र परेका तथा असहज अवस्थामा रहेका यात्रुहरूलाई सुरक्षित रूपमा काठमाडौंसम्म पुर्‍याउने उद्देश्यले उक्त सेवा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

स्थानीय सरकार र स्थानीय समुदायको संयुक्त पहलमा सञ्चालन गरिएको यस सेवाले समस्यामा परेका यात्रुहरूलाई ठूलो राहत पुगेको छ। विपद् तथा असहज परिस्थितिमा स्थानीय सरकार र समुदायबीचको सहकार्यबाट प्रभावकारी मानवीय सेवा प्रदान गर्न सकिने उदाहरणका रूपमा यस पहललाई लिन सकिन्छ।

दुप्चेश्वर गाउँपालिकाले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार नागरिक तथा यात्रुहरूको सहयोगका लागि यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिने जनाएको छ।