रसुवागढी क्षेत्रको स्थलगत अवलोकन : स्थिति सामान्य, चनाखो रहन आग्रह

  • मिति : भदौ १२, २०८३
310 Shares

रसुवा । छिमेकी मुलुक तिब्बत क्षेत्रमा हिमताल फुटेर भोटेकोशी नदीमा भीषण बाढी आउन सक्ने हल्ला फैलिएपछि वस्तुस्थिति बुझ्न जनप्रतिनिधि र प्रशासनको टोली सीमा क्षेत्र पुगेको छ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ र रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी सम्मिलित टोलीले हेलिकप्टरमार्फत रसुवागढी नाका र आसपासका क्षेत्रको आकाशे अवलोकन गरी फर्किएको हो।

अवलोकनपछि गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले नदीमा त्यस्तो ठूलो वा असामान्यताको जोखिमपूर्ण बाढी नदेखिएको जानकारी दिए ।

हवाई निरीक्षणका क्रममा नदीको बहाव सामान्य अवस्थामै रहेको पाइएकोले हाललाई कुनै आत्तिनुपर्ने स्थिति नरहेको उनको भनाइ छ । यद्यपि, हिमाली तथा जोखिमयुक्त भूगोल भएकाले हल्लालाई पूर्ण रूपमा बेवास्ता गर्न नहुने भन्दै उनले तटीय क्षेत्रका नागरिकलाई निरन्तर सचेत र चनाखो रहन आग्रह गरेका छन् ।

पूर्वतयारी र सतर्कताले मात्र सम्भावित जोखिमबाट जोगिन सकिने भएकाले स्थानीय प्रशासन र स्थानीय तहले स्थितिमाथि सूक्ष्म निगरानी राखिरहेको जनाइएको छ।