काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले गर्दा रसुवागढी नाका समेत अब अनिश्चित समयका लागि ठप्प भएको छ । बाढीका कारण चीनबाट नेपाल भित्रिने सयौं कन्टेनर सामान बगेका छन् ।
नाका अवरुद्ध हुँदा दशैं–तिहार लक्षित वस्तुको आपूर्तिमा दबाब पर्नसक्ने नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ । संघका महासचिव रामचन्द्र पराजुलीले बाढीले मानवीय क्षति सबैभन्दा ठूलो विषय भए पनि व्यापारिक हिसाबले पनि ठूलो क्षति पुगेको बताए । उनका अनुसार नाकामा ५०० भन्दा बढी सामान बोकेका कन्टेनर बगेका हुन् ।
‘दैनिक उपभोग्य वस्तुदेखि इलेक्ट्रोनिक्स, विद्युतीय सवारी (ईभी) लगायतका विभिन्न सामान कन्टेनरमा थिए,’ उनले भने, ‘यसको क्षति अरबौं रुपैयाँ बराबर हुनसक्छ ।’ पराजुलीका अनुसार बाढीले सीमाक्षेत्रको अवस्था अत्यन्त जटिल बनाएको छ । नेपालमा चीनबाट लत्ताकपडादेखि फलफूल र विद्युतीय सामानहरु आयात हुने गरेको छ ।
चीनबाट सामान भित्रिने रसुवागढी सबैभन्दा ठूलो नाका हो । यो नाका अवरुद्ध हुँदा नेपालमा विभिन्न वस्तुको मूल्यवृद्धि समेत हुनसक्ने उनले बताए । संघले बाढीको अवस्थाबारे जानकारी गराउन गृहमन्त्री र गृह मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेको पनि जनाएको छ । पराजुलीका अनुसार मन्त्रालयले समेत घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ ।