पुँजी बजारमा ६ खर्ब डुब्यो, अर्थमन्त्री चिठ्ठा खेलाउन व्यस्त छन् : सांसद संग्रौला

  • मिति : भदौ ८, २०८३
395 Shares

काठमाडौँ : श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले पुँजी बजारमा ठूलो नोक्सानी हुँदा पनि अर्थमन्त्रीले वेवास्ता गरेको टिप्पणी गरेकी छिन्। सोमबार प्रतिनिधिसभाको बैठक बोल्दै संग्रौलाले सरकारले ल्याएको बजेटको असफलता आर्थिक वर्षको महिनाबाटै देखिन थालेको टिप्पणी गरेकी हुन्।

सांसद संग्रौलाले भनिन्, ‘वर्तमान सरकार गठन भएपछि पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको छ। तर, यत्रो समस्या हुँदा पनि अर्थमन्त्रीज्यू चाहिँ चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ। अर्थतन्त्रको समस्या समाधान नगरी देश विकास हुन्छ र?’ सत्ता पक्षका सांसदहरुले अर्थमन्त्रीले ३६ देशलाई चिनेको भन्ने गरेको तर अर्थमन्त्रीले भने आफ्नौ देशलाई चिन्न नसकेको संग्रौलाको भनाइ छ।

‘अर्थमन्त्रीले ३६ देशलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरूले भन्नुहुन्छ। तर, उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन। उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो। किनभने नेपालको इतिहासमा कहिल्यै पनि अर्थतन्त्रमा यतिधेरै समस्या र कमजोरी देखिएको थिएन,’ संग्रौलाले भनिन्।

बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहेको, ऋण लगानी नभएको र व्यवसायीहरुले सरकारप्रति अविश्वास प्रकट गरेको उनले बताएकी छन्। ‘बैंकिङ प्रणालीमा यतिधेरै तरलता हुँदा पनि किन कोही लगानी गर्न ऋण लिन चाहिरहेको छैन? के व्यवसायीहरूलाई दुईतिहाइ बहुमतको सरकारको अर्थनीतिमा अविश्वास भएकै हो त?,’ संग्रौलाले प्रश्न गरिन्।