मोदी सरकारले सोसल मिडियामा सेन्सरसिप लगाएको विपक्षीको आरोप

  • मिति : भदौ ३, २०८३
310 Shares

काठमाडौं । भारतको मुख्य विपक्षी दल कांग्रेसले केन्द्र सरकारले सोसल मिडियामा सेन्सरसिप लागु गरिरहेको बताएको छ । सरकारको आलोचना गर्ने सोसल मिडिया पोस्टहरूलाई इन्टरनेटबाट हटाउन लगाएको कांग्रेसको आरोप छ ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले सोसल मिडिया प्लेटफर्म ‘एक्स’मा लेखेका छन्, “मोदी सरकारले प्रत्येक भारतीयको बोल्ने, प्रश्न गर्ने र असहमति जनाउने लोकतान्त्रिक अधिकारमाथि सबैभन्दा दुस्साहसपूर्ण र योजनाबद्ध प्रहार गरेको छ ।”

कांग्रेसले ‘इन्डियन एक्सप्रेस’ पत्रिकाको एक रिपोर्टलाई उद्धृत गर्दै सोसल मिडियाबाट सरकारसँग प्रश्न सोधिएका सामग्रीहरू हटाइएको दाबी गरेको छ । इन्डियन एक्सप्रेसको उक्त रिपोर्टअनुसार मार्चदेखि जुलाई २०२६ को बीचमा सरकारका तर्फबाट इन्स्टाग्राम, फेसबुक र युट्युबलाई एक लाख ९८ हजार अर्थात्, दैनिक औसतमा एक हजार २७५ र हरेक ६८ सेकेन्डमा एउटा सामग्री हटाउने आदेश पठाइएको थियो ।

कांग्रेस अध्यक्ष खर्गेले लेखेका छन्, “सोसल मिडियामा लगाइएको यो सेन्सरसिप त्यति नै निन्दनीय छ, जति हाम्रा युवामाथि गरिएको लाठीचार्ज र पेलेट गनबाट गरिएका आक्रमणहरू निन्दनीय छन् ।”

उनले ब्लकिङ अर्डरहरू अपराधीहरूविरुद्ध नभई विद्यार्थी र युवा भारतीयहरूविरुद्ध रहेको बताए ।

खर्गेले मोदी सरकारले सोसल मिडिया प्लेटफर्महरूका लागि कन्टेन्ट हटाउने समय घटाएर तीन घण्टामा सीमित गरिदिएको बताएका छन् । उनले भनेका छन्, “स्वचालित सेन्सरसिप यति धेरै बढेको छ कि कुनै आवाजलाई चुप गराउनुअघि कुनै मानिसले त्यो आदेशलाई पढ्दा पनि पढ्दैन ।”

कांग्रेसले आफ्नो एक्स एकाउन्टमा भारतजस्तो लोकतान्त्रिक देशमा यसो गर्नु संविधानसँगै अभिव्यक्ति स्वतन्त्रतामाथि पनि सीधा प्रहार भएको उल्लेख गरेको छ । इन्डियन एक्सप्रेस