माछापुच्छ्रे बैंकको नाफा १२.३४ प्रतिशतले बढ्यो

  • मिति : साउन २९, २०८३
378 Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२र८३ मा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२।३४ प्रतिशतले बढेको हो। अघिल्लो आवमा बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानीसँगै शुल्क तथा कमिसन आम्दानीमा भएको सुधारले मुख्य योगदान गरेको देखिन्छ। गत आवमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ५।५३ प्रतिशतको वृद्धि हो।

त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि १ अर्ब २८ करोड ५२ लाख रुपैयाँबाट बढेर १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ पुगेको छ। यससँगै बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब ४४ करोड ६ लाख रुपैयाँबाट बढेर ८ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ। बैंकको आम्दानी र नाफा बढे पनि कर्जा तथा अन्य सम्भावित नोक्सानीका लागि गरिएको व्यवस्थापन रकम भने उल्लेख्य बढेको छ। यस्तो रकम अघिल्लो आर्थिक वर्षको ५५ करोड ६७ लाख रुपैयाँबाट बढेर गत आवमा १ अर्ब ८ करोड १९ लाख रुपैयाँ पुगेको छ।

कर्जा नोक्सानी व्यवस्थापनमा भएको यो वृद्धि बैंकको नाफामा दबाब सिर्जना गर्ने प्रमुख पक्षमध्ये एक बनेको देखिन्छ। यसले बैंकको व्यवसाय विस्तारसँगै कर्जा गुणस्तर र जोखिम व्यवस्थापनलाई आगामी दिनमा थप प्राथमिकतामा राख्नुपर्ने संकेत गरेको छ।

बैंकको वितरणयोग्य मुनाफामा पनि सामान्य वृद्धि भएको छ। असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९८ करोड १९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो नाफा ९३ करोड ६४ लाख रुपैयाँ थियो। यसअनुसार वितरणयोग्य नाफा ४.८६ प्रतिशतले बढेको हो।

बैंकको वार्षिकीकरण गरिएको वितरणयोग्य मुनाफा प्रतिसेयर ७ रुपैयाँ ५१ पैसा रहेको छ। नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० पनि बढेको छ। अघिल्लो आवमा १५ रुपैयाँ ५९ पैसा रहेको ईपीएस गत आवमा बढेर १७ रुपैयाँ ४९ पैसा पुगेको छ। यस्तै, असार मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा रहेको छ।

गत आवमा माछापुच्छ्रे बैंकले निक्षेप तथा कर्जा दुवै विस्तार गरेको छ। असार मसान्तसम्म बैंकले २ खर्ब २० अर्ब ४९ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। अघिल्लो आवको सोही अवधिमा बैंकको निक्षेप १ खर्ब ८४ अर्ब १७ करोड रुपैयाँ थियो।

यसअनुसार एक वर्षमा बैंकको निक्षेप करिब ३६ अर्ब रुपैयाँले बढेको छ। त्यस्तै, बैंकको कर्जा प्रवाह १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँबाट बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ। अर्थात् एक वर्षमा बैंकको कर्जा लगानी करिब २२ अर्ब ५६ करोड रुपैयाँले बढेको हो।

निक्षेपको तुलनामा कर्जा विस्तार केही कम रहेकाले बैंकको तरलता अवस्थामा पनि सुधार देखिएको छ। बैंकको सीडी रेसियो ७८.४५ प्रतिशत र तरलता अनुपात ३२.९३ प्रतिशत रहेको छ।

व्यवसाय तथा कर्जा विस्तारसँगै बैंकको खराब कर्जा अनुपातमा भने सामान्य वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा ३.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात गत आवमा बढेर ३.९८ प्रतिशत पुगेको छ।

यद्यपि, बैंकको खुद खराब कर्जा अनुपात १.१४ प्रतिशत रहेको छ।