सरकार गठनमा नलाग्न सांसदलाई लिङदेनको निर्देशन

  • मिति : साउन २२, २०८३
582 Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशका राप्रपा सांसदलाई सरकार गठनको अंकगणितमा नलाग्न निर्देशन दिएका छन्।

राप्रपाबाट बागमती प्रदेशसभामा निर्वाचित सांसदहरूसँग भएको सामूहिक छलफलमा लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयनमा दृढ रहन आग्रह गरेका हुन्। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाका अनुसार लिङ्देनले वर्तमान राजनीतिक परिस्थिति र प्रदेश सरकार गठनबारे पार्टीको आधिकारिक धारणा सांसदहरूलाई जानकारी गराएका थिए।

अध्यक्ष लिङ्देनले सरकार गठनको विषयमा सांसदहरूलाई कुनै निर्णय नलिन निर्देशन दिएका हुन्। सांसदहरूले सामूहिकरूपमा पार्टी निर्णयलाई पूर्णरूपमा कार्यान्वयन गर्ने र त्यसको मर्मअनुसार एकताबद्ध तथा प्रतिबद्ध रहन निर्देशन प्राप्त भएको नेता थापाको भनाइ छ। पार्टी अध्यक्षको निर्देशनलाई सांसदहरूले पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको भनाइ छ।