१८औँ नाडा अटो शो भदौ ९ गते देखि : डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको छुट

  • मिति : साउन २१, २०८३
684 Shares

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसरमा ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। प्रदर्शनी आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

स्वर्ण वर्षलाई विशेष बनाउने उद्देश्यले नाडाले डिजिटल टिकट खरिद गर्ने अवलोकनकर्ताका लागि ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुट घोषणा गरेको छ। यो अफर खल्तीसँगको सहकार्यमा ल्याइएको हो।

नाडाका अनुसार खल्ती एपमार्फत वा आधिकारिक क्यूआर कोड स्क्यान गरेर अग्रिम टिकट खरिद गर्नेहरूले साधारण (जनरल) र विद्यार्थी दुवै श्रेणीका टिकटमा ५० प्रतिशत छुट पाउनेछन्। आयोजकले यो सुविधा सीमित अवधिका लागि मात्र उपलब्ध हुने भएकाले समयमै टिकट खरिद गर्न आग्रह गरेको छ।

यस वर्षको अटो शोमा विद्युतीय (ईभी) र इन्धनबाट चल्ने दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन, अत्याधुनिक अटो प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट, वित्तीय सेवा तथा बिमा सेवासम्बन्धी प्रदर्शनी रहनेछ।

नाडाले ५० वर्षको यात्रा उत्सवका रूपमा मनाउँदै नयाँ प्रविधिसँग परिचित हुन अटोप्रेमी, युवा तथा विद्यार्थीलाई प्रदर्शनी अवलोकन गर्न आग्रह गरेको छ।