संसद् बैठक बस्दै, यस्ताे छ कार्यसूची

  • मिति : साउन २२, २०८३
276 Shares

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।