काठमाडौँ : मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गर्ने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साउन १५ गते राति करिब २ बजे बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लुप्र००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका अन्दाजी २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए भने मोटरसाइकलको पछाडि सवार ठाकुरबाबा नगरपालिका–९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए। घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको थियो।
अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामै रहेका आसाराम थारुलाई उद्धार गर्नुको सट्टा चालक गोविन्द जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरी मृतकले लगाएको माला/डोरीले घाँटी कसी हत्या गरेको तथा शव सिँचाइ नालामा फालेर फरार भएको खुलेको छ। घटनामा संलग्न गोविन्द जैसीलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।