बडीमालिकाबाट सुरु हुँदैछ ‘ए मेरो हजुर ५’को छायांकन

  • मिति : साउन १८, २०८३
650 Shares

काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले सिनेमा ‘ए मेरो हजुर ५’को छायांकन सुरु गर्न लागेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यही साउन २९ देखि सिनेमाको छायांकन सुरु गरिने जानकारी दिएकी हुन् । सिनेमा सञ्जय लामाले खिच्नेछन् ।

सिनेमाको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट सुरु गर्न लागेको उनले बताइन् ।

बडीमालिकाको चर्चा गर्दै उनले लेखेकी छन्, ‘नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ सिनेमा ए मेरो हजुर ५ को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ ।’

निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरबाट सिनेमाको यात्रा सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरिन् । उनले बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि भएको बताइन् ।

उनले लेखेकी छन्, ‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो ।’ साथै, प्रधानमन्त्री बालेन्द्र साहले समेत बडीमालिकालाई सुदूरपश्चिमको गौरव र नेपालको पर्यटन विकासको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यसको प्रचारप्रसारमा विशेष जोड दिएको प्रसंग पनि स्मरण गरेकी छन् ।

उनले नेपाली प्रकृति, संस्कृति र भावनालाई अझ व्यापक रूपमा दर्शकमाझ पुर्‍याउने उद्देश्यले ‘ए मेरो हजुर ५’ बनाउन लागेको बताइन् । सिनेमाले नेपालीपनलाई सिनेमामा नयाँ ढंगले प्रस्तुत गर्ने उनले विश्वास व्यक्त गरेकी छन् ।

सिनेमा झरनाको निर्देशनमा बन्नेछ । सिनेमामा कलाकारको रूपमा अभिनेत्री सुहाना थापा र अभिनेता अनमोल केसी मुख्य भूमिकाका जोडिएका छन् । यसबाहेक अन्य कलाकार गोप्य राखिएको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने सिनेमाका निर्माता सुनिलकुमार थापा हुन् ।

सिनेमामा अभिनेत्री सुहाना र अभिनेता अनमोलले तेस्रो पटक सहकार्य गर्दैछन् । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए । उनीहरूको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।

‘ए मेरो हजुर’ शृंखलाका अघिल्ला चारै संस्करण बक्स अफिसमा सुपरहिट बनेको थियो ।

स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन थालेकी हुन् ।

स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको ‘ए मेरो हजुर’ पछि यसको दोस्रो शृंखलाबाट झरना थापाले निर्देशनको जिम्मेवारी सम्हालेकी हुन् । त्यसयता ‘ए मेरो हजुर’ शृंखलाका बाँकी संस्करण झरनाले नै निर्देशन गर्दै आएकी छन् ।