श्रीमतीमार्फत लागुऔषधको कारोबार, हिरासतबाट भागेका कृष्ण यादव सप्तरीबाट पक्राउ

  • मिति : साउन १४, २०८३
327 Shares

काठमाडौँ। लागुऔषध कारोबारमा संलग्न गराउने उद्देश्यले दोस्रो विवाह गरी श्रीमतीमार्फत धन्दा चलाउँदै आएका फरार प्रतिवादी कृष्ण यादव पुनः पक्राउ परेका छन्। सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ ठेगाना भएका ३४ वर्षीय कृष्ण यादवलाई लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले साउन १० गते सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ बाट पक्राउ गरेको हो।

यादवले दोस्रो श्रीमतीका रूपमा सबिना अधिकारीलाई विवाह गरी लोकसेवा तयारीका लागि काठमाडौँमा कोठा खोजी कक्षामा भर्ना गरिदिएका थिए। उनले सप्तरीबाट काठमाडौँ पठाएको लागुऔषध बुझेर डेरामा सञ्चय गरी बिक्री गर्न श्रीमतीलाई लगाउने गरेका थिए। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले २०८२ असार १२ गते सबिना अधिकारीलाई खैरो हेरोइनसहित पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले २०८२ असार २४ गते कृष्ण यादवलाई सप्तरीबाट पक्राउ गरी ब्यूरोमा ल्याएको थियो। तर उनी जेन्जी आन्दोलनका क्रममा हिरासतबाटै फरार भएका थिए। त्यसपछि भारतको लौकीमा बसेर उनले काठमाडौँसम्म आलु र प्याजको बोराभित्र लुकाएर लागू औषध सप्लाय गर्दै आएका थिए।

ब्यूरोमा दर्ता भएको मुद्दा अनुसार २०८२ असार १२ गते सबिना अधिकारी खैरो हेरोइन १११ ग्राम २४० मिलिग्रामसहित पक्राउ परेकी थिइन्। यस्तै २०८३ असार २७ गते सप्तरीबाट आलु र प्याजको बोराभित्र लुकाएर काठमाडौँ पठाइएको ३०० ग्राम खैरो हेरोइनसहित मनिस श्रेष्ठसमेत ३ जना पक्राउ परेका थिए। उक्त खैरो हेरोइन कृष्ण यादवले नै पठाएको अनुसन्धानबाट खुलेको थियो।

हिरासतबाट फरार भएकी यादवकी श्रीमती सबिना अधिकारीलाई २०८२ फागुन २७ गते लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय थानकोटले ८८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। उनी अदालतको आदेशले पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा छिन्। फरार रहेका यादवलाई पुनः नियन्त्रणमा लिएर प्रहरीले थप आवश्यक अनुसन्धान कार्य अघि बढाएको छ।