सामाजिक सद्भाव कायम गर्न ९ दलको ७ बुँदे अपिल

  • मिति : साउन १३, २०८३
480 Shares

काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको घटनालाई लिएर प्रमुख राजनीतिक दलहरूले शान्ति र सद्भावको लागि ७ बुँदे सामूहिक अपिल जारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकपछि संघीय संसद् र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने ९ वटा दलले सामूहिक रूपमा ७ बुँदे अपिल जारी गरेका हुन् ।

दलहरूको संयुक्त अपिलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सन्देशसहित सुनसरी लगायतका स्थानमा उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न तयार रहेको संकल्प गरिएको छ ।

‘सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौँ । आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ,’ दलहरूको सामूहिक वक्तव्यमा भनिएको छ ।

प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्‍याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न पार्टीका तल्ला कमिटीहरूलाई निर्देशन दिइएको छ । स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुन पनि आग्रह गरिएको छ ।

संवेदनशील समयमा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न नागरिकलाई अनुरोध गरिएको छ साथै सञ्चारमाध्यमहरूलाई संयमित र तथ्यपरक सूचना सम्प्रेषणका लागि आग्रह गरिएको छ ।

नागरिकको जीउधनको रक्षा गर्नु राज्यको दायित्व भएकोले संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।