इरानद्वारा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बलहरूमाथि मिसाइल आक्रमण

  • मिति : साउन १३, २०८३
395 Shares

काठमाडौं । इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बलहरूलाई लक्षित गर्दै आकस्मिक आक्रमण गरेको छ । सैन्य अड्डाहरूमा इरानले ब्यालिस्टिक मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ ।

यस घटनाले दुई देशबीच कायम रहेको अस्थायी युद्धविराम भंग गरेको अमेरिकी पक्षले बताएको बीबीसीले जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार यो आक्रमण मंगलबार स्थानीय समयअनुसार १७ः४५ बजे भएको थियो । कमान्डले सबै मिसाइलहरू सफलतापूर्वक बीचमै अवरुद्ध (इन्टरसेप्ट) गरिएको दाबी गरेको छ ।

सेन्ट्रल कमान्डले विशेष गरी जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी इरानले मिसाइल प्रहार गरेको पुष्टि गरेको छ । उसका अनुसार सबै मिसाइलहरूलाई बीचमै निष्क्रिय पारिएको र अमेरिकी सेना उच्च सतर्कताको अवस्थामा रहेको अलजजिराले जनाएको छ ।

इरानले भने यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकी दाबीअनुसार यो आक्रमण दुई देशका वार्ताकारहरूलाई पुनः वार्ताको टेबलमा ल्याउने उद्देश्यले भएको युद्धविरामकै बीचमा भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दुवै पक्षबीच लगातार तेस्रो दिनसम्म कुनै आक्रमण नभएको उल्लेख गर्दै इरानसँग निकै सौहार्दपूर्ण वार्ता भइरहेको बताएका थिए । उनले भनेका थिए, “मलाई लाग्छ, केही सकारात्मक परिणाम आउने राम्रो सम्भावना छ ।”

यद्यपि, ट्रम्पले युद्धविराम असफल भएमा अमेरिकाले पहिले गरिरहेको सैन्य अभियानमै फर्किन सक्ने चेतावनी पनि दिएका थिए ।

होर्मुज जलमार्गको पहुँच र नियन्त्रण वार्ताको प्रमुख विवादित विषय बनेको छ । यी मिसाइल आक्रमणहरू इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको वासिङ्टन भ्रमणकै क्रममा भएका हुन् । भ्रमणका क्रममा उनले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरेका थिए । अलजजिरा