काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा एक महिला आफ्नै कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छन् । तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरेर राखिएको बीएई ०४१० नम्बरको विद्युतीय कारभित्र शनिबार दिउँसो ४५ वर्षीया रश्मी रिजालको शव फेला परेको हो ।
तारकेश्वर–९ शुभकामना चोक निवासी रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’का रूपमा कार्यरत थिइन् । पारिवारिक स्रोतका अनुसार उनी साउन ८ गते बिहान ७ बजेदेखि सम्पर्कविहीन थिइन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार कारको पछाडिको सिटमा जलेको अवस्थामा शव फेला परेपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । प्रहरीले शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको जनाएको छ ।