हामी कहाँ चुक्यौँ ? आत्मसमीक्षा गरौँ : माधव नेपाल

  • मिति : साउन ८, २०८३
429 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक माधवकुमार नेपालले नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले ऐतिहासिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा पनि वामपन्थी शक्तिहरूको आवश्यकता अझ बढी महसुस गरिएको बताएका छन् ।

४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशभक्त, लोकतन्त्रवादी, गणतन्त्र पक्षधर तथा संविधानका समर्थक सबैको आशा वामपन्थी शक्तिमाथि रहेको बताए ।

उनले भने, ‘नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । आजको समयमा पनि वामपन्थी शक्तिहरूको भूमिकाको आवश्यकता सबैतिर बोध भएको छ । देशभक्त शक्तिहरूले पनि वामपन्थीहरुतिरै आशावादी नजरले हेरिरहेका छन् । लोकतन्त्रवादी शक्तिहरूले पनि, गणतन्त्रका हिमायतीहरूले पनि, संविधानका पक्षपोषकहरूले पनि वामपन्थीहरुतिर नै नजर घुमाइरहेका छन् । आमजनताको पक्षमा आवाज बुलन्द होस् भन्ने अपेक्षा वामपन्थीहरूबाटै गरेका छन् ।

नेपालले अरूलाई मात्र दोषारोपण गरेर समस्या समाधान नहुने उल्लेख गर्दै वामपन्थी शक्तिले आफ्नै कमजोरीको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । उनले कहाँ कहाँ चुक्यौँ सोचहरूमा, नीतिहरूमा गतिविधिहरूमा यसको समीक्षा गर्नुपर्ने बताए ।

उनले भने, ‘अरूलाई आरोप मात्र लगाएर पुग्दैन । कहाँ हामी चुक्यौँ, यसको समीक्षा गर्नुपर्छ । हाम्रा सोचहरूमा, नीतिहरूमा, गतिविधिहरूमा, व्यवहारहरूमा, जीवनशैलीहरूमा कहाँ–कहाँ त्रुटि रहे, सबैको पनि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ । खुला मनले बसेर छलफल गरौँ ।’

उनले विभिन्न समयमा अवलम्बन गरिएका नीतिहरूको समेत समीक्षा गर्न आवश्यक रहेको बताए । नेपालले शासनसत्तामा पुगेपछि विदेशी शक्तिसामु झुक्नैपर्ने मानसिकता त्याग्नुपर्ने धारणा राख्दै राष्ट्रिय हितका विषयमा दृढतापूर्वक आवाज उठाउन सकिने बताए ।

उनले भने, ‘शासनसत्तामा आउनेबित्तिकै विदेशीका सामु झुक्नैपर्छ भन्ने हुँदैन, आवश्यक छैन । दृढताका साथ आफ्नो आवाज बुलन्द गर्न सकिन्छ । आवाज बुलन्द गर्नेबित्तिकै युद्ध नै भइहाल्छ भन्ने हुँदैन । हाम्रो देशको हितको कुरा राख्नेबित्तिकै समुद्र टुटिहाल्दैन ।’

नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका विषयमा विश्वका विभिन्न अनुभवबाट सिकेर अघि बढ्नुपर्ने उल्लेख गर्दै अनावश्यक रूपमा विदेशीलाई खुसी पार्ने प्रवृत्तिले गलत निर्णयहरू स्वीकार गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे । उनले विदेशी स्वार्थप्रति सचेत रहन आग्रह गर्दै राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘अन्तर्राष्ट्रिय सम्बन्ध कसरी कायम गर्नुपर्छ भन्ने बारेमा संसारका धेरै अनुभवहरू छन् । ती अनुभवहरूबाट शिक्षा लिएर पनि हामी अगाडि जान सक्छौँ । अनायासै विदेशीहरूलाई खुसी पार्ने काममा पनि लाग्न पुगेका छौँ । फलस्वरूप कतिपय गलत कुराहरूलाई पनि स्वीकार गर्ने काम गरेका छौँ । विदेशीहरूको स्वार्थलाई बुझेर त्यसप्रति सतर्क रहँदै अवलम्बन गरेका राम्रा कामलाई राम्रो भन्न सक्नुपर्छ ।’