आलोचनामा केन्द्रित हुँदा पार्टी गन्तब्यमा पुग्न सक्दैन : शर्मा

  • मिति : साउन ८, २०८३
259 Shares

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुने आलोचनामा अल्झिनुभन्दा बीपी कोइरालाको विचार, संस्कार र आदर्शलाई २१औँ शताब्दीका युवाको भावनासँग जोडेर समुन्नतिको यात्रामा अघि बढ्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्रको आलोचनाप्रति संकेत गर्दै त्यसमा केन्द्रित हुँदा गन्तव्यमा पुग्न नसकिने बताए।

उनले भने, ‘कसैले कहीँ भेला भएर धेरै आलोचना गर्नुभयो भनेर त्यतातिर ढुंगा हानिराख्दा हामी गन्तव्यमा पुग्न सक्दैनौं। बीपी कोइरालाको पुण्यतिथिमा बीपीकै विचार र संस्कारको कुरा गरौं। २१औँ शताब्दीका युवाको भावनासँग बीपीको विचारलाई एकाकार गरेर समुन्नतिको गन्तव्यतर्फ अघि बढ्ने संकल्प गरौं।’

शर्माले जलवायु परिवर्तनलाई विश्वकै गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै नेपाल पनि यसको प्रत्यक्ष असरबाट अछुतो नरहेको बताए। उनले दुई वर्षअघि असारमा खडेरी परेको र त्यही वर्ष असोज १२ गते काठमाडौं डुबानमा परेको घटनाको स्मरण गर्दै भारतको टिस्टा क्षेत्रमा आएको बाढी तथा साउदी अरेबियामा हजका क्रममा ५५ डिग्री तापक्रमका कारण एक हजारभन्दा बढी तीर्थयात्रीको मृत्यु भएको उदाहरण प्रस्तुत गरे।