काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको लडेर हात भाँचिएको भन्ने हल्ला आधारहीन र भ्रामक भएको सचिवालयले जनाएको छ। सचिवालयले विज्ञप्ति जारी गर्दै लडेर हात भाँचिएको छ भन्ने आशयका अपुष्ट, आधारहीन तथा भ्रामक समाचार फैलाइएको भन्दै आपत्ति जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको स्पष्ट पार्न चाहन्छौँ। सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ। कुनै पनि आधिकारिक पुष्टि बिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो।’
सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणमा कुनै पनि सूचना वा समाचार साझा गर्नु अघि त्यसको सत्यता आधिकारिक स्रोतबाट पुष्टि गर्न अनुरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय सूचना प्रवाह गरौँ, अफवाह र भ्रम फैलाउने कार्यबाट टाढा रहौँ।’
नेता मीनबहादुर विश्वकर्माले पनि पूर्वसभापति देउवाको हात भाँचिएको भन्ने हल्लामा सत्यता नभएको जिकिर गरे। उनले नेपाल प्रेससँग भने, ‘यो हल्ला आएपछि मैले पनि बुझेको हुँ। उहाँको स्वास्थ्य अवस्था पहिलाको भन्दा राम्रो छ। आएका समाचारहरूमा कुनै सत्यता छैन।’