काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै पहिलो जित हात पारेको छ ।
मेक्सिकोका लागि खेलको ९ औं मिनेटमा जुलियन क्विनोन्सले गोल गरे । त्यसपछि ६७ औं मिनेटमा स्ट्राइकर राउल जिमेनेजले उत्कृष्ट हेडर गोल गर्दै अग्रता दोब्बर बनाए ।
मेक्सिको सिटी रंगशालामा भएको उद्घाटन खेलमा तीन जना खेलाडीले रातो कार्ड पाएका थिए ।
दक्षिण अफ्रिकाका स्फेफ्लो सिथोले र थेम्बा ज्वानेले रातो कार्ड पाए भने मेक्सिकोका सेसर मोन्टेसले अतिरिक्त समयमा रातो कार्ड पाएका थिए ।
दोस्रो हाफको सुरुमै दक्षिण अफ्रिकी मिडफिल्डर स्फेफेलो सिथोलेले रातो कार्ड पाए । ४९ औं मिनेटमा सिथोले ब्रायन गुटिएरेज गोलतर्फ अगाडि बढ्दै गर्दा पछाडिबाट फाउल गरे । रेफ्रीले रातो कार्ड देखाइदिए ।
त्यसपछि ८४ औं मिनेटमा थेम्बा ज्वानेलाई हिंसात्मक आचरणको लागि रातो कार्ड देखाइयो । जसकारण दक्षिण अफ्रिकाले नौ खेलाडीसँग खेल खेल्नुपर्यो ।
मेक्सिकोका सेसर मोन्टेसले पनि इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।
जारी विश्वकपको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुनेछ । खेल मेक्सिकोको ग्वाडालाजारामा बिहान ७ः३० बजे सुरु हुनेछ ।
यी दुई देशबीच अहिलेसम्म चार अन्तर्राष्ट्रिय खेल भएको छ । दुवै टोलीले एक जित र दुई बराबरीसहित एकअर्कासँग बराबरी खेलेको छ ।
फिफा विश्वकपको इतिहासमा यी दुई टोली पहिलोपटक आमनेसामने हुन लागेको हो ।
विश्व फुटबल वरियतामा दक्षिण कोरिया २५ औं स्थानमा छ भने चेक गणतन्त्र ४१ औं स्थानमा छ ।