रास्वपा मोरङको सभापतिमा भरत कँडेल निर्वाचित

  • मिति : जेष्ठ २४, २०८३
497 Shares

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको प्रथम जिल्ला अधिवेशनबाट भरत कँडेल सभापति चयन भएका छन् । विराटनगरमा सम्पन्न अधिवेशनमा कँडेल सभापतिमा निर्वाचित भएका हुन् ।

कुल ४८६ मत खसेकोमा कँडेलले २८३ मत पाए । उनका प्रतिस्पर्धी कोषराज खनालले १३४ र सागर फुयाँलले ५६ मत प्राप्त गरे । कँडेल रास्वपा मोरङका संस्थापक सभापति हुन् । सचिवमा दिवस नेपाल र सहसचिवमा सिर्जना गिरी निर्वाचित भए ।

जिल्ला कार्यसमितिका चार सदस्यका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा भावना बस्नेत श्रेष्ठ, युवराज ओझा, ओमप्रकाश श्रेष्ठ र लक्ष्मी श्रेष्ठ विजयी भए ।

रास्वपाको विधानअनुसार ९ सदस्यीय जिल्ला कार्यसमितिमा पदाधिकारीसहित निर्वाचित सदस्य रहनेछन् । कोषाध्यक्षको चयन पछि गर्ने व्यवस्था छ । समितिमा दुई जना सदस्य मनोनित हुनेछन् र पालिका सभापतिहरू स्वतः सदस्य हुनेछन् ।