ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

  • मिति : जेष्ठ २४, २०८३
514 Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट तयार गरिएको आफ्नै प्रशंसामा आधारित एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भिडियो सेयर गरेपछि यसले विभिन्न डिजिटल प्लेटफर्ममा व्यापक चर्चा पाएको छ ।

एक मिनेट लामो उक्त भिडियोमा ट्रम्पलाई विश्वभर लोकप्रिय नेताका रूपमा प्रस्तुत गरिएको छ । गीतका शब्दमा मेक्सिको, इटाली, चीन र भारतलगायत विभिन्न देशका नागरिकहरूले ‘डोनाल्ड ट्रम्पलाई माया गर्छन्’ भन्ने दाबी गरिएको छ भने ट्रम्पको नाम पटक–पटक दोहोरिएको छ ।

भिडियोमा एआई प्रविधिको प्रयोग गरी ट्रम्पलाई विभिन्न काल्पनिक दृश्यमा देखाइएको छ । उनी प्याराग्लाइडिङ गरिरहेको, चन्द्रमामा अन्तरिक्ष पोसाक लगाएर उभिएको, सिंह र ऊँट चढेको, भारतको सडकमा मोटरसाइकल चलाएको तथा इटलीको प्रसिद्ध ‘लिनिङ टावर अफ पिसा’ अगाडि उभिएको दृश्य समावेश गरिएको छ । साथै, आफ्नै अनुहार अंकित पिज्जा खाइरहेको दृश्य पनि भिडियोमा राखिएको छ । उक्त गीत न्यूयोर्कबाट रिपब्लिकन पार्टीका कंग्रेस उम्मेदवार तथा ट्रम्प समर्थक एन्थोनी कन्स्टान्टिनोले तयार गरेका हुन् ।

ट्रम्पले भिडियोसँगै कन्स्टान्टिनोको सन्देश पनि पुनः सेयर गरेका छन् । जसमा उनले आफूले राष्ट्रपति ट्रम्पका लागि यो गीत तयार पारेको र उनको समर्थन पाएकोमा गर्व लागेको उल्लेख गरेका छन् । अनौठा दृश्य र ट्रम्पको प्रशंसामा केन्द्रित गीतका कारण भिडियोले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया बटुलिरहेको छ ।

ट्रम्पले आफ्नो राजनीतिक छवि र लोकप्रियतालाई उजागर गर्ने उद्देश्यले ट्रुथ सोसलमार्फत यस्ता मिम, भिडियो तथा प्रयोगकर्ताले बनाएका डिजिटल सामग्रीहरू नियमित रूपमा सेयर गर्दै आएका छन् ।