सरकारले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्दछ : राजेन्द्र लिङ्देन

  • मिति : जेष्ठ १५, २०८३
582 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई सरकारले गम्भीर रूपमा लिएर तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।

राप्रपा स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले आयोगले दोषी ठहर गरेका व्यक्तिहरूले कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र सफाइ लिनुपर्ने धारणा राखे । उनले मानव अधिकारसम्बन्धी विषय केवल नेपालको आन्तरिक मामिलामै सीमित नहुने भन्दै यसको अन्तर्राष्ट्रिय प्रभावसमेत पर्ने बताए ।

उनले आयोगको प्रतिवेदन संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी निकायहरूको अभिलेखमा समेत रहने भएकाले यसलाई हल्का रूपमा लिन नहुने उल्लेख गरे । विगतमा मानव अधिकार उल्लंघनमा संलग्न ठहरिएका व्यक्तिहरूलाई विभिन्न मुलुकले भ्रमणमा रोक लगाएका उदाहरण रहेको उल्लेख गर्दै उनले दोषी ठहर भएकाहरूले आवश्यक प्रक्रिया पूरा गरेर सफाइ लिनुपर्ने बताए ।

अध्यक्ष लिङ्देनले प्रतिवेदनले धेरै संवेदनशील विषय उजागर गरेको दाबी गर्दै सरकारलाई कार्यान्वयन प्रक्रियामा सक्रिय हुन आग्रह गरे । उनका अनुसार मानव अधिकारको विषयमा सरकार र सम्बन्धित निकायले जिम्मेवार ढंगले अघि बढ्न आवश्यक छ ।