काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताएकी छन्। बुधबार प्रतिनिधि सभाका सांसदहरूले राखेका जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हुन्।
मन्त्री चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारले हालै मित्रराष्ट्र भारतसँग ५० हजार मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया सुरु गरिसकेको जानकारी पनि दिइन्। सो खरिदका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको उनले संसद्लाई जानकारी गराइन्।
मन्त्री चौधरीले मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या आएको तथा मूल्यमा उच्च वृद्धि भएको तथ्य पनि संसद्मा स्मरण गराइन्। यस परिस्थितिमा चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी सम्झौता भइसकेको १ लाख ८७ हजार मेट्रिक टन मल अझै आउन नसकेको उनले स्पष्ट पारिन्।
नजिकै आइपुगेको धान रोपाइँको सिजनमा मलको अभाव हुन नदिन मन्त्रालयले मल आपूर्तिको सम्झौता भइसकेका आपूर्तिकर्ताहरूलाई समयमै मल ल्याउन कडा ताकेता गरेको उनको भनाइ छ। जवाफ दिने क्रममा उनले भनिन्, ‘नेपाल सरकारले लागत सहभागिता को आधारमा अनुदानमा किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएको जानकारी गराउन चाहन्छु । चालू आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको छ भने ४ लाख ६३ हजार १६० मेट्रिक टन किसानलाई विक्री गरिसकिएको छ । गोदाममा रहेको र नेपाल भित्री सकेको गोदाम इन्ट्री हुन बाँकी रहेको हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन मत मौज्दात रहेको छ ।
चालू आर्थिक वर्षको असारसम्मको अवधिमा करिब ६ लाख मेट्रिक टन किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ । जुन अहिलेसम्मकै बढी परिणाम हुनेछ ।’ मन्त्री चौधरीले सरकारले चालू आर्थिक वर्षमा विगतका वर्षहरूमा भन्दा बढी रासायनिक मलको वितरण गरेको दाबीसमेत गरिन्। यसका साथै सरकारले रासायनिक मलको सन्तुलित प्रयोगका साथै जैविक तथा प्राङ्गारिक मलको प्रयोगमा जोड दिएको र सोही अनुसार देशभर जानकारीमूलक सूचना प्रवाह गरिएको उनले स्पष्ट पारिन्।