निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन

  • मिति : जेष्ठ १३, २०८३
2K Shares

काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले निजी (स्वास्थ्य संस्था) अस्पतालबाट प्रदान गरिने स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै निजी अस्पतालमा  जेठ १६ देखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको जानकारी दिइन्  ।

उनले बोर्डको बढ्दो वित्तीय सङ्कटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको बताइन्   ।

बोर्डका सूचना अधिकारी विकेश मल्लले बोर्डमा ३६ वटा निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए । उनका अनुसार बोर्डमा ५०५ स्वास्थ्य संस्थामध्ये ४४२ सरकारी र २७ सामुदायिक स्वास्थ्य संस्था बीमा बोर्डमा आबद्ध छन् ।

उनले बोर्डको सङ्कट टार्नका लागि व्ययभार तत्कालका लागि निजी स्वास्थ्य संस्थामा बीमा कार्यक्रम स्थगित गरिएको बताए  ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ ।

यस्तै थप प्रतिसदस्य रु ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बिमा कार्यक्रममा ५९ लाख ७० हजार ४०३ बीमित रहेका छन् ।