खर्बौंको चुहावट नरोकिएसम्म नागरिक अभियान जन्मिरहन्छ : पूर्वप्रशासक दाहाल

  • मिति : जेष्ठ १०, २०८३
599 Shares

काठमाडौँ : पूर्वप्रशासक कुमार दाहालले मुलुकको खरिद प्रणाली, राजस्व असुली र वैदेशिक ऋण परिचालनमा व्यापक सुधार नगरिएसम्म नागरिक असन्तोष र आन्दोलनहरू भइरहने बताएका छन् । स्वतन्त्र नागरिक अभियान नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र र प्रशासनिक संयन्त्रभित्रको विकृतिबारे गम्भीर खुलासा गरे ।

‘यो देशमा वार्षिक १५ देखि २० खर्ब रुपैयाँ बराबरको चुहावट भइरहेको छ र यो क्रम अहिले पनि जारी छ,’ उनले भने, ‘जबसम्म हामीले खरिद बिक्री, राजस्व उठ्ती र वैदेशिक ऋणको परिचालनमा आमूल सुधार गर्न सक्दैनौँ, तबसम्म राज्यविरुद्ध यस्ता नागरिक अभियानहरू निरन्तर जन्मिरहनेछन् ।’

सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा देशका विकृतिविरुद्ध आवाज उठ्नु सकारात्मक भएको उल्लेख गर्दै उनले भने, ‘अहिले बजारमा इमानदारिताको कुरा बढी उठेको छ । तर देशमा वास्तविक परिवर्तन ल्याउनका लागि अरूलाई औँला ठड्याउनुअघि तपाईं र हामी आफैँ परिवर्तन हुन जरुरी छ ।’

१८ देखि २५ वर्ष उमेर समूहका युवाहरू सचेत बन्दै देशका मुद्दामा केन्द्रित हुनु मुलुकका लागि सुखद संकेत भएको उनले उल्लेख गरे । ‘नयाँ पुस्ताका युवाहरूमा लोकतन्त्रको राम्रो अभ्यास भइरहेको देखिन्छ, जुन निकै खुसीको कुरा हो,’ दाहालले भने । तर, समाज र राजनीतिमा रहेका अदृश्य र नकारात्मक शक्तिहरूलाई पर्दाफास गर्न आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।