मेरो योग्यता र क्षमतामा प्रश्न उठ्ने ठाउँ छैन : प्रस्तावित प्रधानन्यायाधीश शर्मा

  • मिति : जेष्ठ ५, २०८३
582 Shares

काठमाडौँ।  प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो सिफारिस योग्यता र क्षमताको आधारमा भएको दलिल गरेका छन् । प्रधानन्यायाधीशको नियुक्तिमा वरिष्ठताको मापदण्ड बलियो नहुने उनको तर्क छ ।

आज संसदीय सुनवाइमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो तर्क गरेका हुन् । शर्माले भने, ‘प्रधानन्यायाधीशको नियुक्तिलाई बढुवाको रूपमा नलिइकन नियुक्तिको रूपमा लिनुपर्छ । यसमा वरिष्ठताको मापदण्ड बलियो आधार हुन्छ जस्तो लाग्दैन । संवैधानिक परिषदबाट प्रक्रिया पूरा गरेर निर्णय भएकोमा मैले बढी केही बोलिरहनुपर्छ जस्तो लागेको छैन ।’

शर्माले आफूलाई लागेको नेपोबेबीको आरोपको पनि बचाउ गरे ।

उनले भने, ‘नेपोबेबी भन्ने विषयलाई कसरी लिने मलाई थाहा छैन । योग्यता र क्षमताले एउटा अवधि पूरा गरेर पुनरावेदन अदालतमा न्यायाधीश नियुक्त भएको हुँ । त्यहाँ कार्यसम्पादन सम्पन्न गरेर संविधानले पद रिक्त गरेपछि पुन कानून व्यवसायमा फर्किएँ । र पुन नियुक्ति पाएर सर्वोच्च आएको हो ।

यो यस्तो कुरा हो कि सबेले आआफ्नो धारणा बनाउन सक्छन् । त्योभन्दा बढी केही लागेको छैन । जोकोहीले आफ्नो धारणा बनाउन स्वतन्त्र हुनुहुन्छ । त्यसैले एउटा धारणा बनाएको हो भन्ने मानेको छु । मेरो योग्यता–क्षमतामा प्रश्न उठ्ने ठाउँ छैन । पारिवारिक नाता भएकै कारण कुनै पदमा नियुक्तिका लागि योग्य हुँदैन भन्ने कानूनी व्यवस्था वा न्यायिक मान्यता रहेको थाहा छैन ।’