सुधन गुरुङको सम्पत्ति छानबिन गर्न कांग्रेस सांसदको माग

  • मिति : जेष्ठ ४, २०८३
990 Shares

काठमाडौँ : पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न नेपाली कांग्रेसका सांसदले माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्वगृहमन्त्री गुरुङको सम्पत्ति छानबिनको माग गरेका हुन्। ‘पूर्वगृहमन्त्री सुदन गुरुङले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनुपर्दछ,’ उनले भने।

अहिले गठन भएको छानबिन समिति उनलाई चोख्याउन लागेको शाहको आरोप थियो। उनले भने, ‘संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागिपरेको जनस्तरमा व्यापक आशंका र चर्चा छ।’

कसैको दबाब र प्रभावमा आयोगले चोख्याउने काम गर्न नहुने उनको भनाइ थियो। ‘कुनै पनि शक्तिशाली पदमा बसेको व्यक्तिले कानुनभन्दा माथि रहने उन्मुक्ति पाउनु हुँदैन र आयोगले कसैको दबाब वा प्रभावमा परेर चोख्याउने काम नगरोस्,’ उनले भने।

पूर्वगृहमन्त्री गुरुङमाथि पारदर्शी रुपमा छानबिन सुनिश्चित हुनुपर्ने उनको भनाइ थियो। ‘प्रतिनिधि सभा जनताको विश्वास को केन्द्र हो,’ शाहले भने, ‘तसर्थ, यो गरिमामय सदनमार्फत म सरकारसँग माग गर्दछु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्तिको उच्चस्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्।’