बाह्रबिसेमा हाइड्रो परियोजनाको असरः घर चर्किए, स्थानीयले दिए कडा आन्दोलनको चेतावनी

  • मिति : जेष्ठ ३, २०८३
701 Shares

सिन्धुपाल्चोक, ३ जेठ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका क्षेत्रमा निर्माणाधीन कालिका हाइड्रोपावर लिमिटेड अन्तर्गतको भोटेकोशी–५ जलविद्युत परियोजना विरुद्ध स्थानीय बासिन्दा तथा प्रभावितहरूले बृहत् विरोध कार्यक्रम गरेका छन्।

परियोजनाको सुरुङ निर्माणका क्रममा गरिने ठुला ब्लास्टिङका कारण पैदा हुने ठुलो आवाज र भूकम्प जस्तै आउने कम्पनले गर्दा स्थानीय बस्तीहरू जोखिममा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

ब्लास्टिङका कारण बाह्रबिसे नगरपालिका वडा नम्बर ५, ३, ४, ८, ९ र त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का केही बस्तीहरूका घरहरू चर्कन थालेका छन्। घरहरू भत्किने जोखिम बढेसँगै स्थानीय वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, असक्त तथा बालबालिकाहरूमा चरम त्रास फैलिएको छ।

यति मात्र नभई, ब्लास्टिङका कारण पशुपेन्क्षीहरूमा समेत प्रत्यक्ष असर परेको र उनीहरूलाई नियन्त्रणमा राख्न समेत कठिन भइरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।

विरोध कार्यक्रममा सहभागी प्रभावित क्षेत्रका नागरिकहरूले परियोजना विरुद्ध चर्को नाराबाजी गर्दै आफ्नो जिउधनको शान्ति सुरक्षा सुनिश्चित गर्न माग गरेका थिए। आन्दोलनका क्रममा बाह्रबिसे पुल क्षेत्रमा केही समय सवारी साधनको आवतजावत समेत रोकिएको थियो, जसका कारण अरनिको राजमार्गको यातायात सेवा पूर्ण रूपमा प्रभावित बनेको थियो।

प्रभावित क्षेत्रका युवा स्र्याङ्बो तामाङ, फुरतेम्बा शेर्पा,निकेश श्रेष्ठ,शान्त तामाङलगायतले स्थानीयका समस्याहरूलाई तत्काल सम्बोधन नगरिए अझ सशक्त र कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। आन्दोलनकारीहरूले परियोजनाको ब्लास्टिङ कार्यलाई वैज्ञानिक र सुरक्षित ढंगबाट सञ्चालन गर्न तथा ब्लास्टिङका कारण क्षतिग्रस्त भएका घरहरूको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

जेठ ४ गते वार्ताका लागि नगरपालिकाको पत्र

स्थानीयको आन्दोलन र सडक अवरोधका कारण राजमार्गको आवतजावतमा बाधा पुगेपछि बाह्रबिसे नगरपालिकाले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

स्थिति सहज बनाउन र समस्याको समाधान खोज्न बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले यही जेठ ४ गते सोमबार दिनको ४:०० बजे नगर कार्यपालिकाको कार्यालयमा हाइड्रोपावर पक्ष र आन्दोलनकारी प्रतिनिधिहरू बीच छलफलका लागि सूचना प्रकाशन गरी वार्तामा बोलाएका छन्। नगरपालिकाले वार्ता र संवादको माध्यमबाटै समस्या समाधान गर्न सरोकारवाला दुवै पक्षलाई अनुरोध गरेको छ।