काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–३ बस्ने झापा दमक नगरपालिका–२ घर भएका ३७ वर्षीय सागर गौतम, काठमाडौं टोखा नगरपालिका–१ बस्ने दाङ घोराही उपमहानगरपालिका–१० घर भएका ३२ वर्षीय शम्भु गौतम र काठमाडौं महानगरपालिका–२९ बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ घर भएका ३७ वर्षीय सनम गुरुङ रहेका छन् ।
पक्राउ मध्ये सागरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५८ हजार रुपैयाँ, शम्भुले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख ९० हजार रुपैयाँ र सनमले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितबाट २४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सागरलाई काठमाडौं टोखा नगरपालिका–३ बाट सोमबार तथा शम्भुलाई टोखा नगरपालिका–२ बाट र सनमलाई काठमाडौं महानगरपालिका–१२ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।