डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा गएराति आएको बाढीमा परी गम्भीर घाइते भएकी रेउली विकलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ।
लगातारको वर्षापछि धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढी शुक्रबार बिहान करिब ३ बजे गाउँमा पस्दा रेउली विकसहित ६ जना घाइते भएका थिए ।
बाढीमा परी अन्दाजी ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको थियो। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार घाइतेमध्ये रेउली विक (४४) को अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत सुर्खेत रिफर गरिएको हो।
बाढीमा घाइते भएका अन्य चाउरी विक (५०), विष्णु विक (४८), निरुता विक (१५), सीता विक (१३) र जस विक (६५) को स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बाढीका कारण गाउँका सहकारी भवन, खाद्य गोदामसहित करिब १५ घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।